काठमाडौँ । शिशुलाई नुन र मह खुवाउनुहुन्छ कि हुँदैन ? यस विषयमा धेरै अभिभावक अन्योलमा हुन्छन् । अझ परिवारमा ज्येष्ठ नागरिक पनि छन् भने त यस विषयलाई लिएर ठुलै मतभेद हुने गर्छ ।बालरोग विशेषज्ञ डा. रामहरि चापागाईँ शिशुलाई अतिरिक्त नुन खुवाउन नहुने सुझाव दिन्छन् । उनका अनुसार एक वर्षमुनिका बच्चालाई महबाट पनि टाढै राख्नुपर्छ ।मानव शरीरका लागि नुन अपरिहार्य भए पनि यसको अत्यधिक सेवन हानिकारक हुन्छ । दैनिक जीवनमा तरकारी, दालमोठ, बिस्कुट जस्ता तयारी खानेकुराका साथै केरा जस्ता फलफूलमा समेत प्राकृतिक रूपमा सोडियम नुन पाइन्छ ।राष्ट्रिय योजना आयोगले यस वर्ष नुनको उपयोगलाई वाञ्छित सीमाभित्र राख्ने लक्ष्य नै लिएको छ । जसले अत्यधिक नुन सेवन कम गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ । विशेषगरी ६ महिनादेखि एक वर्षसम्मका शिशुलाई खानेकुरामा छुट्टै नुन थप्नु आवश्यक नभएको डा. चापागाईं बताउँछन् ।