धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् । 

शिविरमा नेत्र अधिकृतद्वय दिनेश बानियाँ र गणेश महतोसहित स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच, औषधि र चश्मा वितरणसँगै परामर्श सेवा दिएको थियो । गाउँमै आँखा उपचार सेवा लिन पाएपछि स्थानीयवासी खुसी भएका छन् । शिविरको उद्घाटन गर्दै धवलागिरि–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले शिविरले घरदैलोमै उपचार सेवा लिने अवसर दिएको बताउँदै सर्वसाधारण नागरिकलाई राहत भएको बताए ।