सोलुखुम्बुको खुम्बु क्षेत्रमा असोजमै परेको असामान्य हिमपातले स्थानीय, व्यवसायी र आरोहण टोलीलाई प्रभावित पारेको छ। सामान्यतया दुर्लभ मानिने यो हिमपात जलवायु परिवर्तनको सङ्केत मानिएको छ। यसले दैनिक जीवन र निर्माण परियोजनाहरूलाई अवरुद्ध गरेको छ। साथै, मौसम प्रतिकूलताका कारण मेरापिकमा एक कोरियाली आरोहीको मृत्यु भएको छ।“नाम्चेभन्दा माथिल्लो क्षेत्रमा परेको हिउँले जनजीवन प्रभावित बनाएको छ”, अधिकारीले भने, “दिङ्बोचे क्षेत्रमा पाँच वटा होटल हिमपातबाट प्रभावित भएका छन्, तर मानवीय क्षति भने भएको छैन ।” दिङ्बोचे क्षेत्रका पाँच होटल जस्तासहितका संरचना हिउँको भार सहन नसकी भास्सिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले भने, “हिउँको भार र लगातारको वर्षाले छानाको संरचना भत्किँदा पाँच होटल भासिएका हुन् । मानवीय क्षति नभए पनि आर्थिक क्षति भने भएको छ ।” पर्यटन याम सुरु भइसकेका बेला परेको हिमपातले व्यापारीलाई थप चिन्तित बनाएको उहाँको भनाइ छ

