
काठमाडौँ महानगरमा स्वास्थ्य विभागले नेपाल नेत्र ज्योति सङ्घ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्नेगरी विद्यालय छनोट गरेर परीक्षण गरिएको जनाइएको छ । विभागका प्रमुख दीपककुमार केसीका अनुसार परीक्षण कक्षा १ देखि कक्षा १० सम्मका छात्रछात्रालाई सहभागी गराइएको थियो । जसमा छ हजार १७५ जना छात्र र पाँच हजार ४६२ जना छात्रा थिए । जाँच गरिएकामध्ये करिब १० दशमलव ८३ प्रतिशत अर्थात् एक हजार २६० जना छात्रछात्रामा नजिकको देख्न नसक्ने या टाढाको देख्न नसक्ने खालका समस्या देखिएको छ । करिब दुई दशमलव ६१ प्रतिशत अर्थात् ३०४ जनामा आँखामा हुने विभिन्न खालका रोग भेटिए । जाँचपछि आधारभूत र आवश्यकता परेका ११ प्रकारका औषधिहरू वितरण गरिएको थियो ।

