काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चाडबाडको समयमा अस्वस्थ र असन्तुलित माछा-मासुको प्रयोगले १ सय ६० भन्दा बढी प्रकारका रोगहरू निम्तिने खतरा रहेको भन्दै सर्वसाधारणलाई खानपानमा विशेष सन्तुलन कायम गर्न आग्रह गरेका छन् ।उनले चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन र जीवनपद्धतिमा आउने भद्रगोलका कारण स्वास्थ्य सम्बन्धी समस्याहरू बढी देखापर्ने बताए । प्रवक्ता डा. बुढाथोकीले अस्वस्थ मासु, धेरै चिल्लो पदार्थ तथा जंकफुडको प्रयोगले स्वास्थ्यमा जटिलता ल्याउने र दीर्घरोगीहरूमा झनै ठूलो खतरा निम्तिने चेतावनी दिए ।

पाचन प्रणालीमा गम्भीर असर

प्रवक्ता बुढाथोकीले विशेषगरी मासु पकाउने तरिकामा ध्यान दिनुपर्नेमा जोड दिए । सेकुवा, तारेर वा भुटेर खाइने माछा मासुले पाचन प्रणालीमा समस्या निम्त्याउने बताए । ‘सेकुवा भनेर, तारेर, भुटेर माछा मासु धेरै खाँदा पाचन प्रणालीमा समस्या निम्त्याउँछ । त्यसले कब्जियत, झाडापखालादेखि लिएर खाद्य नलीको क्यान्सरसम्मको समस्या निम्तिन्छ,’ उनले थपे ।उनले छोइलाजस्ता काँचो मासुबाट पनि विभिन्न रोग निम्तिने खतरा रहेकाले ुगोठदेखि ओठसम्मु शुद्ध भएपछि मात्रै माछा मासु खानु उचित हुने सुझाव दिए ।