
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन्।कर्णाली प्रदेश रङ्गशालाको अनुगमनका क्रममा सदस्य सचिव घिसिङले गत मङ्सिर २१ गते बसेको परिषद्को ११८औँ बैठकका निर्णयअनुसार आगामी चैत २३ गतेदेखि सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताए। उनले नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक रु ६० करोड बजेट छुट्याएको र यसबाट खेलाडीलाई राहत हुनेगरी काम गरिने बताए।कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आयोजकको तयारी र योजनाअनुसार आफूहरू समयमै प्रतियोगिता हुनेगरी काममा लागिपरेको बताउनुभयो । उहाँले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का रिक्त पदाधिकारी नियुक्तिका विषयमा आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।

