नेपाल पुलिस क्लबले वीरगन्जमा भएको जय ट्रफी दुईदिवसीय क्रिकेटमा पहिलो दिन ४५ रनको अग्रता लिएको छ । टस हारेर ब्याटिङमा आएको मधेशले निकै राम्रो सुरुआत गरेको थियो ।टोली एकसमय २८ औं ओभरमा ९९–२ को स्थितिमा थियो । तर, ३० रन जोड्दा बाँकी ७ विकेट गुमाएपछि मधेश ४२.४ ओभरमा १ सय २९ रनमा अलआउट भयो । नारायणी रंगशालामा पुलिसले पहिलो दिन खेल समाप्त हुँदा ४० ओभरमा ३ विकेट गुमाई १ सय ७० रन जोडेको छ । कप्तान आरिफ शेख १३ र अमित श्रेष्ठ ३४ रन बनाएर अविजित छन् ।यसअघि मधेशका ८ खेलाडी दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । ओपनर ब्याटर मयन यादवले ५९ रनको सानदार इनिङ्स खेले । जनकपुरमा बागमतीविरुद्धको पहिलो खेलमा शतक बनाएका मयनले १ सय २ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । कप्तान हरिशंकर ९ रनमा आउट भएपछि मयन र नीरज यादवले दोस्रो विकेटमा ५१ रनको साझेदारी गरे ।