काठमाडौँ — भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको छ । विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि क्याम्पस प्रशासन र सुरक्षा कर्मचारीले दुर्व्यवहार र कुटपिट गरेका थिए । बी–टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गर्दा दमन भएको हो ।मंगलबार विश्वविद्यालयले उक्त घटनाबारे फलोअप सूचना जारी गर्दै दुई जना सुरक्षा गार्डलाई बर्खास्त गरिएको जानकारी दिएको छ । त्यस्तै छात्रावासका दुई जना उच्च अधिकारी र एक जना प्रशासन अधिकृत पनि घटनाको छानबिन नहुन्जेलसम्मका लागि बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ ।