काठमाडौँ — एक चौथाइ सांसद पनि बैठकमा उपस्थित नहुँदा आइतबार संसद्को कार्यसूची अवरुद्ध भएको छ । सांसदको गणपूरक संख्या (कोरम) नै नपुग्दा आमाको नामबाट नागरिकता दिने व्यवस्था भएको विधेयक अघि बढ्न नसकेको हो ।गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए । तर प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा संसद्को एक चौथाइ सांसद पनि बैठकमा थिएनन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सुरु हुँदा २ सय २० सांसदले हाजिरी लगाएका थिए । प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदा ६८ सांसद मात्रै थिए ।