
पोखरामा सन् १९९० को दशकमा जन्मिएका ७ वटा सांगीतिक ब्याण्डहरूले शनिबार एउटै स्टेजबाट सांगीतिक प्रस्तुति दिने भएका छन्।‘ब्याक टु नाइन्टिज: विरासतलाई फर्केर हेर्दा’ कार्यक्रम अन्तर्गत पोखरामा जन्मिएका सांगीतिक ब्याण्डहरू कन्दरा, ब्रो–सिस, द भागाबोण्ड, लेकाली, डि–मर्चा, मध्यान्ह र देउराली ब्याण्डले ९० का दशकमा सिर्जना गरेका गीत संगीत प्रस्तुत गर्नेछन्। पोखरा सांगीतिक कलाकार संघ र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक एवं प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए।
‘पोखरामा जन्मिएका सबै ब्याण्डहरूलाई एउटै मञ्चबाट सांगीतिक प्रस्तुति दिने कार्यक्रमको तयारी पूरा भएको छ,’ उनले भने, ‘विरासतलाई फेरि फर्काउन यो कार्यक्रमले मलजल गर्नेछ।’ शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म नयाँ बजारको प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा ९० को दशकमा सिर्जना गरिएका गीतहरू प्रस्ततु गरिनेछ। कन्सर्टमा कन्दरा ब्याण्डले चर्चित गीतहरू तगारोमा रूमाल राखी, तिमी पारी त्यो गाउँमा, लेककी हे माया गीत प्रस्तुत गर्ने गायक विवेक श्रेष्ठले जानकारी दिए।

