
काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न प्रकरण कोट्याउँदै सरकारलाई घेर्ने कोशिश गरेका छन् ।उनले बिहीबार प्रतिपक्षी दलको नेताका रुपमा सम्बोधनका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरंकुश भन्दै घेर्ने कोशिश गरेका हुन् । उनले सरकारले निरंकुश सोँचका साथ सामाजिक सञ्जाल विधेयक ल्याइएको आरोप पनि लगाए ।नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले बैठकमा सामाजिक अभियन्ता भनिएकी आशिका तामाङलाई हतकडी लगाएर काठमाडौं र भक्तपुर घुमाइएको प्रसंग पनि निकालेका छन् ।
त्यसैगरी पाथीभरामा केबलकार निर्माणका लागि गोली हानेर स्थानीयलाई दमन गरिएको पनि उनले आरोप लगाएका छन् ।‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ?’, उनले भने, ‘आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ ।’उनले यो सरकारले अभिव्यक्ति स्वतन्त्र खोस्न खोजेको पनि बताए । ‘अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित र संकुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ’, उनले आशिका प्रकरणमा भने भने, ‘कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’

