
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमतिको नवीकरणका लागि स्वीकृति पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत् निर्यातका लागि यसअघि दिइएको स्वीकृतिलाई नवीकरण गरिदिएको हो।प्राधिकरणले देश भित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गर्दै आएको छ। भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ।आईएक्समा बिक्रीको नवीकरण भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृति पाएका ४ आयोजनाको अनुमति नवीकरण भएको छ। ती आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आईएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो। सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण गरिएको छ।

