
नेपाल राष्ट्र बैंकले आसन्न आमनिर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता खोल्न सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।खर्चको आम्दानी खर्च कारोबार गर्न एक मात्र छुट्टै बैंक खाता खोल्न पाउनेछन् । निर्वाचनसँग सम्बन्धित सबै वित्तीय कारोबार यही खातामार्फत गर्नुपर्नेछ ।
आयोग मातहतका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा नेपाली रुपियाँमा कारोबार गर्न मिल्ने गरी ‘इलेक्शन क्याम्पेनिङ’ प्रयोजनका बैंक खाता खोल्न सकिनेछ । यसमा क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्नेछ ।सामान्य अवस्थामा लागू हुने एउटै प्रकृतिका बहु बैंक खाता खोल्न नपाइने नियम भने निर्वाचन प्रयोजनका खातामा लागू नहुने राष्ट्र बैंकले स्पष्ट गरेको छ । निर्वाचन खर्चलाई पारदर्शी, व्यवस्थित र सहज बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाइएको छ ।

