लमजुङ — हिमाली जिल्ला मनाङमा सार्वजनिक बस सञ्चालनको तयारी गरिएको छ । मनाङमा हालसम्म सार्वजनिक रुपमा पिक जिपले मात्रै सेवा दिँदै आएको छ । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सार्वजनिक बस सञ्चालन गर्ने सम्बन्धमा आइतबार तयारी बैठक बसेको बताए ।हामीले लमजुङ सदरमुकाम बेंसीसहरबाट मनाङ सदरमुकाम चामेसम्म पहिलोपटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालन गर्ने तयारी गरेका छौं,’ उनले भने ।प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधि र पूर्वाधार विकास कार्यालयका प्रमुखसहित बसेको समन्वयात्मक बैठकले सार्वजनिक यातायातका रूपमा बस सञ्चालन गर्ने निर्णय गरेको हो ।यातायातलाई व्यवस्थित, सुलभ र सरल रुपमा सञ्चालन गरी मनाङका वासिन्दा, आन्तरिक तथा बाहृय पर्यटक तथा कर्मचारीलाई सहुलियतपूर्ण यात्राको सुनिश्चित गर्न बस सञ्चालन आवश्यक रहेको बैठकको निष्कर्ष रहेको उनले बताए ।