पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने अवसर पारेर राजावादीहरूले काठमाडौंमा शक्तिप्रदर्शनको तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादी संगठनहरूले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने तयारी गरेका हुन् । पोखराबाट फर्किएपछि ज्ञानेन्द्रलाई जुलुससहित चक्रपथ हुँदै महाराजगञ्जस्थित निर्मल निवास लैजाने उनीहरूको तयारी छ । पूर्वराजा शाह आज पोखराबाट काठमाडौं फर्कँदै छन् । पछिल्लो केही समयदेखि गण्डकी प्रदेशका विभिन्न धार्मिक स्थलको भ्रमण गरिरहेका शाह आज अपराह्न काठमाडौँ आउन लागेका हुन् ।राजावादीहरूले गर्ने शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । पूर्वराजाको स्वागतमा करिब ६ हजार राजावादीहरू सहभागी हुनसक्ने प्रहरीको आँकलन छ । प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको प्रहरीले जनाएको छ ।