फाकफोकथुम गाउँपालिका–३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ।भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँँदैन। पानीको जोहोमै बित्छ बिहान,’ उनले भने, ‘जुरुक्क उठेर डोको बोक्यो, पानी खोज्न हिँड्यो। बिहान अरु काम गर्न भ्याइँदैन। सरकारले कहिले ठूलो आयोजना ल्याइदेला र आँगनमा धारा बनाउँ जस्तो भएको छ।’सल्लेरी गाउँमा ९० परिवारको बसोबास छ। यहाँको मुख्य समस्या खानेपानी नै हो। गाउँमा पानीको स्रोत नहुँदा हिउँदमा हाहाकार हुने गरेको छ। नजिकै कुवा, खोला र खोल्सा छैन । केहीले छिमेकी गाउँबाट निजी लगानीमा पाइप बिछ्याएर पानी ल्याएका छन् भने अधिकांशले गाग्रीमा ओसारेर दैनिकी चलाइरहेका छन्।

बर्खामा अकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद सुरु भएपछि पानी अभावले हरेक बर्ष सताउने गरेको छ ‘बर्खामा अकासे पानीको भर पर्नुपर्छ। हिउँद त नआए हुन्थ्यो जस्तो लाग्छ। हामी अर्को बर्खाको पर्खाइमा छौं,’ स्थानीय वेदप्रसाद पाण्डेले भने, ‘पल्ला गाउँमा जस्तै सबैको आँगनमा पानीको धारा भए हामी पनि ढुक्कले रोजगारीमा हिँड्न पाउँथ्यौँ । घरमै पानीको धारा बनाउने सपना पूरा नहोलाजस्तो छ।’गाउँको बीचमा कक्षा ५ सम्मको सल्लेरी प्राथमिक विद्यालय छ। विद्यालयमा एउटा धारा छ। तर धारोमा पानी आउँदैन। विद्यार्थीले घरबाट बोत्तलमा पानी लिएर पढ्न आउँछन्। पिउन मात्र होइन, शौच गर्न पनि समस्या छ। टिफिन समयमा टाढा धाएर बालबालिकाले पानी ओसार्छन् र प्रयोग गर्छन्।सकेसम्म विद्यार्थीलाई पानीको अभाव हुन दिएका छैनौँ । तर, बोकेर सधैँ साध्य नहुने रहेछ । हामीलाई पनि गाह्रो छ, अभिभावकलाई पनि गाह्रो छ, हाम्रो गाउँको मुख्य समस्या नै पानी भयो,’ प्रधानाध्यापक तारादेव नेम्वाङले भने।