काठमाडौं सहित देशभर मौसम बदली भएको छ। पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। मौसम विभागले दैनिक जनजीवनमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। उनका अनुसार हिजो साँझ पश्चिम नेपालबाट बदली सुरु भई आज अधिकांश क्षेत्रमा फैलिएको हो।

