
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई संकटग्रस्त घोषणा गरी टेक ओभर गरेपछि शेयर बजारमा यसको प्रभाव गम्भीर देखिएको छ । बिहीबारको बजारको अवस्थालाई विश्लेषण गर्दा विकास बैंक र फाइनान्सहरूप्रति लगानीकर्ताको विश्वासमा धक्का पु¥याउने सम्भावना देखिएको छ।
धेरै अगाडिदेखि विशेष गरी केही जिल्लामा सीमित रहेका विकास बैंक र फाइनान्सहरूमा वित्तीय सुशासन नरहेको तथा ती कम्पनीहरूमार्फत शेयर बजारमा पनि सर्वसाधारण लगानीकर्तालाई ठगी गर्ने उद्देश्यबाट अभिप्रेरित समूहले चलखेल गरिरहेको चर्चा हुने गदथ्र्यो। तर, विगतमा सबैले आफू अनुकूल व्याख्या गर्दै आएकोमा पछिल्लो घटनाक्रमले भने विगतदेखिको शंकालाई पुष्टि गर्न बल पुगेको देखिन्छ। किनकि नेपाल राष्ट्र बैंकले गत मंसिर ११ गते कर्णाली डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेपछि उक्त बैंकको शेयर मूल्य अस्वाभाविक रूपमा चलखेल भएको स्पष्ट छ।जुन वित्त कम्पनीमा राष्ट्र बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत रहेको लगायतका कारण देखाउँदै संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएको भनेर वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम शीघ्र सुधारात्मक कारबाही गरेको छ। सोही कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने गरी वृद्धि हुन्छ भने त्यसमा चलखेल रहेको स्पष्ट हुन्छ।
राष्ट्र बैंकले कारबाही गरेको दिन मंसिर ११ गते उक्त कम्पनीको शेयर मूल्य ८ दशमलव ४५ प्रतिशतले घटेर ७६९ रुपियाँमा झरे पनि भोलिपल्टै १० प्रतिशतले मूल्य बढेर ८४५ रुपियाँमा कारोबार भएको थियो भने राष्ट्र बैंकको कारबाहीपछि कारोबार रोक्का हुनुअगाडिसम्म सो बैंकको शेयर मूल्य ८१० रुपियाँमा कारोबार भएको छ। पछिल्लो एक वर्षमा झन्डै डेढ सय प्रतिशतले शेयर मूल्य बढेको पाइन्छ । त्यति मात्रै होइन, हाल उक्त विकास बैंकको अधिकतम शेयर केही निश्चित व्यक्तिसँग रहेको देखिन्छ । यसबाट के स्पष्ट हुन्छ भने, वित्तीय अवस्था कमजोर नियामक निकायले कारबाही गरिरहेको कम्पनीको शेयर मूल्यमा वृद्धि हुने र ठूला खेलाडीले शेयर होल्ड गर्नुले सो कम्पनीमा चलखेल भइरहेको अर्को संकेत हो । यसको नियामक निकायबाट छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

