
दक्षिण अफ्रिकामा अश्वेतको शासनले श्वेतहरू अन्यायमा परेको र उनीहरूमाथि रंगभेद भएको बताउँदै राष्ट्रपति ट्रम्पले अमेरिका आउन चाहे उनीहरूलाई स्वागत गर्ने घोषणा गरेका थिए।त्यसअनुसार आइतबार ४९ जना दक्षिण अफ्रिकी श्वेतहरू जोहानेसबर्गस्थित ओआर अन्तर्राष्ट्रिय विमानस्थलबाट वाशिङ्टन उडेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।उनीहरू भारी लगेजसहित विमानस्थलमा प्रवेशका लागि लामबद्ध भएका थिए। त्यहाँ उपस्थित पत्रकारहरूले उनीहरूलाई प्रश्न गर्दा दूतावासले मिडियासँग नबोल्नू भनेको जबाफ दिएका थिए। उनीहरू आफै पनि एक-अर्कासँग सानो स्वरमा बोलिरहेका थिए।दक्षिण अफ्रिकाको विमानस्थल प्राधिकरणले ४९ जना बोर्डिङ भएको जानकारी दिएको छ। उनीहरु सोमबार बिहानसम्म वाशिङ्टन पुग्ने ती प्राधिकरणका अधिकारीहरुले बताएका छन्।
न्युयोर्क टाइम्सका अनुसार वाशिङ्टनमा उनीहरूको सहायताका लागि अमेरिकी प्रतिनिधिहरू रहनेछन्।जोहानेसबर्गमा बस्दै आइरहेका ५२ वर्षीय भान डेर मर्वीले बुद्धि भएकाहरू अब दक्षिण अफ्रिकामा नबस्ने बताए। उनले आफू र श्रीमतीको जागिर खोसिएको र अश्वेतहरुको आक्रमणमा परेको बताएका छन्। ‘गोरा भएकै कारण हामीले जागिर गुमायौं। मलाई लाग्छ अब दक्षिण अफ्रिका सिद्धिन्छ,’ उनले भनेका छन्। आफूले पनि शरणार्थी बनेर अमेरिका जानका लागि दूतावासमा निवेदन दिएको तर त्यसको जबाफ आइनसकेको उनले बताएका छन्।

