मनाङ- घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । सन् २०२४ मा मनाङमा ३० हजार आठ सय ६६ पर्यटक भित्रिएका छन् । एक वर्षमा १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच जना अन्य विदेशी नागरिक यहाँ आएका तथ्याङ्क रहेको इकाईका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।यहाँ आउने पर्यटक अन्नपूर्ण पदमार्गका साथै मनास्लु पदयात्रामासमेत निस्कने गरेका इकाईअन्तर्गत धारापानीमा भएको अभिलेखीकरण उल्लेख छ । उनका अनुसार तीन वर्षको वार्षिक तथ्याङ्कअनुसार हालसम्म बढी मात्रामा फ्रान्सका नागरिक यहाँ आएका देखिन्छ ।

प्रमुख भुजेलले भने,’अन्य देशको तुलनामा यहाँको भ्रमणमा फ्रान्सका नागरिक बढी आएको पाएका छौँ ।’ सन् २०२४ मा तीन हजार तीन सय १६ जना फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । उनका अनुसार इजरायलका तीन हजार छ, जर्मनीका दुई हजार तीन सय ५५, युकेका एक हजार नौ सय र भारतका एक हजार आठ सय ३१ नागरिक यहाँ आएका छन् ।हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले यहाँ पर्यटकको आकर्षण बदेको भन्दै यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने भुजेलले बताए । बाइस हजार ३९ पर्यटक थोराङ्रा भञ्ज्याङ र तिलिचो ताललगायत क्षेत्रको भ्रमण गरेका छन् भने आठ हजार आठ सय २७ पर्यटकले मनास्लु पदमार्गको यात्रा गरेका उनले जानकारी दिए ।दुई सिजनमा पर्यटकको आवागमन हुने भन्दै पहिलो सिजन (मार्च, अप्रिल र मे) महिनामा बढी पर्यटकको आगमन हुने भुजेलले बताउनुभयो । त्यस्तै दोस्रो सिजनअन्तर्गत सेप्टेम्बर, नोभेम्बर, अक्टोबर र डिसेम्बरमा पर्यटकको आगमन तुलनात्कम रूपमा कम हुन्छ ।