काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको दिएको भनाइले नेपाल र भारतको राजनीतिक र कूटनीतिक वृत तरंगित भएको छ ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको बताएका थिए ।‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला । मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ । भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’, प्रधानमन्त्री शाहले भनेका थिए ।लामो समयको प्रतिपक्षीको मागपछि प्रधानमन्त्री शाहले संसद् बैठकमा दिएको पहिलो जवाफ नै विवादमा परेको छ । भारतले मात्र होइन, नेपालले नै भारतको जग्गा मिचेको उनको भनाइले सर्वत्र विवाद चुलिएको हो ।

नेपाल र भारतबीच भएको सीमा विवादमा बेलायतसँग पनि कुरा गर्ने अभिव्यक्ति पनि विवादमा परेको छ ।प्रधानमन्त्रीको भनाइप्रति विपक्षी दल, कुटनीतिक क्षेत्रका जानकार र सीमाविदहरूले गलत भएको भन्दै आपत्ति जनाएका छन् ।गम्भीर संवेदनशील विषयमा प्रधानमन्त्रीले हचुवाको भरमा बोलेको भन्दै सामाजिक सञ्जालमा पनि रोष प्रकट भएको छ ।प्रधानमन्त्रीको यो भनाइले भारतमा पनि तरंग ल्याएको छ । सोमबार प्रकाशित अधिकांश भारतीय मिडियाले प्रधानमन्त्री शाहको ‘नेपालले पनि सीमा अतिक्रमण गरेको’ भनाइलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।अधिकांश भारतीय मिडियामा प्रधानमन्त्री शाहको अभिव्यक्तिले स्थान पाएको छ ।

बीबीसी हिन्दी सेवाले प्रधानमन्त्रीको भनाइलाई उद्दृत गर्दै नेपालले भारतको पनि जग्गा अतिक्रमण गरेको लेखेको छ ।इन्डियन एक्सप्रेसले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद रहँदै आएको उल्लेख गर्दै दुवै देशले यी क्षेत्रमाथि आफ्नो दाबी गर्दै आएका समाचार छापेको छ ।