
काठमाडौँ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलालीको धनगढीमा आयोजना गरेको चुनावी सभामा समाचार संकलनका लागि पुगेका पत्रकारहरूमाथि भएको रोकटोक र दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा गरेको हो ।
विज्ञप्तिमा जनाइएअनुसार, रास्वपाको पासबिना आमसभा स्थलमा जान नमिल्ने भन्दै पत्रकारहरूलाई धकेलाधकेल गरिएको थियो । महासंघले रास्वपाका कार्यकर्ताहरूले गरेको यस्तो कार्य नेपालको संविधानको प्रस्तावनामा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको प्रतिकूल भएको ठहर गरेको छ ।
महासंघले आसन्न चुनावका हरेक चुनावी कार्यक्रमहरूमा पत्रकारहरूलाई निर्बाध रूपमा समाचार संकलन गर्न निर्वाचनमा सहभागी सबै राजनीतिक दलहरूलाई अनुरोध गरेको छ । साथै, प्रदेशभरिका सबै सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्दै कुनै पार्टी वा उम्मेदवारको एकपक्षीय प्रचारमा संलग्न नहुन पनि महासंघले आग्रह गरेको छ ।

