सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले तयार गरेको अभिलेखअनुसार सन् २०२५ भरि १४ हजार ९८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएका छन् । चौध हजार ७३८ विदेशी, सार्क राष्ट्रबाट ३४४ र २४० जना स्वदेशी पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार मनासलु क्षेत्र प्रवेश गर्नका लागि १४ हजार ७२१ जनाले अनलाइनमार्फत अनुमति लिएका थिए । यस्तै, १७ जना पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टबाट अनुमति लिएको उनले जानकारी दिए ।