नयाँ दिल्ली । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले प्रसिद्ध अभिनेता धर्मेन्द्रको निधनपछि सामाजिक सञ्जालमा एक पोस्ट शेयर गरेका छन् । ‘अर्का एक जना बहादुर दिग्गज बिदा भए । मञ्च छुट्यो । पछाडि एक असहनीय, प्रतिध्वनिशील मौनता छुट्यो, धर्म जी…’ सोमबार राति, अमिताभ बच्चनले इन्स्टाग्राममा लेखे । धर्मेन्द्र र अमिताभ बच्चनले कल्ट फिल्म शोलेमा जय र वीरूको अविस्मरणीय जोडीको भूमिका निर्वाह गरेका थिए ।उनी महानताको प्रतीक थिए । आफ्नो दमदार उपस्थितिको लागि मात्र होइन, बरु आफ्नो विशाल हृदय र सरलताको लागि पनि उनी परिचित थिए… उनले आफ्नो साथमा पञ्जाबको त्यो गाउँको माटोको सादापन लिएर आएका थिए, जहाँबाट उनी निस्किएर आएका थिए,’ पोष्टमा लेखिएको छ ।

‘आफ्नो शानदार यात्रामा उनी सोही स्वभावसँग जोडिइरहे । हरेक दशकमा फेरिदैं जाने फिल्मी समुदायमा पनि उनी आफ्नो शानदार करियरको साथ रहे… समुदाय फेरिरह्यो । उनी फेरिएन ।’ धर्मजीको मुस्कान, उनको अनुग्रह रहने बानी र उनको जोश हर कोहीसम्म पुगेको  पनि पोष्टमा अमिताभले लेखेका छन् ।फिल्म उद्योग जस्तो पेशामा यो दुर्लभ भएको भन्दै धर्मेन्द्रको मृत्यु पछि  वरिपरि एउटा खालीपन रहेको र यो खालीपन कहिल्यै नभरिने पनि पोष्टमा लेखिएको छ । धर्मेन्द्रको अन्तिम संस्कार सोमबार दिउँसो १ः२० बजे मुम्बईको विले पार्लेस्थित पवन हंस श्मशानघाटमा गरिएको थियाे । यसमा उनका नजिकका आफन्तहरू उपस्थित थिए । धर्मेन्द्र ८९ वर्षका थिए ।  केही समयदेखि उनी बिरामी थिए ।