जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव शिक्षण अस्पतालमा पोष्टमार्टमपछि हेलिकप्टरमार्फत उपत्यकाबाहिर पठाइएको छ। मन्त्रिपरिषद् बैठकले निःशुल्क रूपमा शव पठाउने निर्णय गरेको थियो। प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ, जसमा तीन जना प्रहरी र गोली लागेर ज्यान गुमाएका धेरै प्रदर्शनकारी छन्।पहिलो दिन २३ भदौमा प्रहरीले जथाभावी गोली प्रहार गर्दा २१ जना मारिएका थिए, जसमा १७ जना ३० वर्षमुनिका थिए । दोस्रो दिन प्रदर्शनका क्रममा देशभर ३९ जनाको ज्यान गएको थियो । तीमध्ये १५ जना विभिन्न व्यापारिक भवन र निजी घरमा जलेको अवस्थामा भेटिएका थिए ।भाग्ने क्रममा थप ५ बालबन्दी र ५ कैदीबन्दीको मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार ७ शव चिन्न नसकिने अवस्थामा छन् । ‘त्यसका लागि डीएनए परीक्षण गर्नुपर्छ । दाँत, फिंगर प्रिन्टबाट शव परीक्षण हुन्छ,’ उनले भने ।
काठमाडौं उपत्यकामा दुई दिनमा मारिएका ४७ मध्ये २८ जनाको पोस्टमार्टम भएको छ । त्यसमध्ये २३ शव परिवारले बुझिसकेका छन् ।सुरुमा प्रहरी मुचुल्का नभएर पोस्टमार्टम रोकिएको थियो । पछि प्रहरीले सिफारिस दिएपछि पोस्टमार्टम हुन थालेको थियो । तर मृतक तथा घाइते परिवार संघर्ष समितिले सरकारसँग १४ बुँदे माग अघि सार्दै सुनुवाइ नभई शव नउठाउने अडान लिएको थियो । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारअघि भेला भएर पीडित परिवारले नाराबाजी गरेका थिए ।मृतकका परिवारको माग सम्बोधन नगरी मन्त्रीहरू नियुक्त हुन थालेपछि आफन्त आक्रोशित बनेको हामी नेपाल समूहका सुदन गुरुङले बताएका थिए । सोमबार प्रधानमन्त्री सुशीला कार्कीले मागपत्र बुझ्दै कार्यान्वयनका लागि मुख्य सचिव एकनारायण अर्याललाई निर्देशन दिएपछि आफन्त शव उठाउन राजी भएका हुन् ।

