
केही दिनयता घर बाहिर निस्किंदा आँखा-नाक पोल्ने, श्वास फेर्न असजिलो महसूस गर्नुभएको होला। आकाश खैरो तुवाँलोले डम्म ढाकिएको छ, जसका कारण परसम्म देख्न सकिएको छैन। चैत १८ मा त तुवाँलोका कारण आँखाले परसम्म राम्ररी ठम्याउन नसकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कतिपय हवाई उडान नै अवरुद्ध भए। हरेक वर्षको हिउँदमा जस्तै यस वर्ष पनि वायु प्रदूषण असाध्यै खराब स्तरमा ओर्लिएपछि जनस्वास्थ्यमा जोखिम आइपरेको छ।
पछिल्ला दिनमा काठमाडौं संसारकै खराब हावा भएको राजधानीमा दरिंदै आएको छ। काठमाडौंको हावा अत्यधिक अस्वस्थ मात्रै होइन, खतरापूर्ण स्थितिमा उक्लिइसकेको छ। चैत २१ गते बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक ३४८ भन्दा पनि माथिसम्म पुग्यो।हावाको गुणस्तर सूचकांक ५० सम्म हुनुलाई राम्रो मानिन्छ, १०० सम्मलाई तैबिसेक मानिन्छ। यसभन्दा माथि सूचकांक पुग्नु नराम्रो त हुँदै हो, सूचकांक २०१ बाट माथि लाग्नु त असाध्यै अस्वस्थको कोटिमा पर्छ। ३०० नाघ्नु त संकटकै अवस्था हो।
काठमाडौंवासीले पछिल्ला दिनमा यही असाध्यै खराब हावामा श्वास फेर्नुपरेको छ। यो स्तरको प्रदूषणले बालबालिका, वृद्ध र रोगी मात्रै होइन, सबै खालका मानिसको स्वास्थ्यलाई गम्भीर असर पुर्याउने मानिन्छ। भैंसेपाटी, बोहोराटार लगायत केही स्थानमा त वायु गुणस्तर सूचकांक ४०० भन्दा पनि माथि लाग्यो, जसलाई खतरनाक वा संकटको अवस्था मानिन्छ।

