पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो प्रजातन्त्र दिवसको अवसरमा एक सन्देश जारी गर्दै जनआह्वान गरे- देश बचाउने हो भने मलाई साथ दिनुहोस्, त्यागलाई कमजोरी नठानियोस्।पूर्वराजाको त्यो आह्वानलाई राजावादी दलहरू राप्रपा, राप्रपा नेपाललगायतले ठूलो रूपमा मात्रै लिएनन्, सडक आन्दोलन नै गरे। उनीहरूले देशका ठूला सहरहरूमा समर्थन सभा नै गर्दै हिँडे। जहाँ उनीहरूले ठूलो स्वरमा भने- देशमा राजा फर्किनैपर्छ, नफर्किए देश डुब्छ।

यसपछि झन्डै एक महिना पोखरा बसेर फर्किएका उनै पूर्वराजा ज्ञानेन्द्रको सम्मानमा यिनै दल तथा अन्य साना-तिना राजावादी शक्तिहरूले गत फागुन २५ गते अभिनन्दन मात्रै गरेनन्, हजारौंको सङ्ख्यामा सहभागीहरूले पूर्वराजाको पक्षमा नाराबाजी नै गरे।हजारौंको भीडको बीचमा हात हल्लाउँदै सवार पूर्वराजा ज्ञानेन्द्रको त्यो दृश्यले प्रजातन्त्र/लोकतन्त्रवादी दलहरूको आँखा बिझायो। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी (जसपा)लगायतका दलहरूले पनि राजाको सक्रियताका प्रति आ-आफ्नै गच्छेअनुसार खबरदारी गरे। यसरी कि मानौँ, राजा केही दिनमै शक्तिमा फर्किँदैछन्।