दाँतको बाह्य सुरक्षात्मक तह ‘इनामल’ मर्मत गर्न र फेरि बनाउन सघाउने एउटा नयाँ ‘जेल’ले दाँतको उपचारमा “नयाँ सम्भावना” खोलिदिन सक्ने उक्त ‘जेल’को आविष्कारमा संलग्न वैज्ञानिकहरूले बताएका छन्।यूनिभर्सिटी अफ नटिङ्गमको स्कूल अफ फार्मेसी र रासायनिक तथा पर्यावरण इन्जिनिअरिङ विभागसँग आबद्ध विशेषज्ञहरू विश्वभरिका अनुसन्धानकर्ताहरूसँग मिलेर ‘इनामल’लाई बलियो बनाउने र दाँत मक्किने समस्यालाई रोक्ने प्रयासमा लागेका छन्।

उक्त विश्वविद्यालयका अनुसार उक्त ‘जेल’ प्रोटीनबाट निर्माण गरिन्छ र त्यसले शिशुहरूमा ‘इनामल’ बन्दा देखिने “मुख्य तरिकाको नक्कल” गर्छ। उक्त ‘जेल’ले थुकमा हुने क्याल्सिअम र फस्फेट आयनहरूलाई आकर्षित गरी बाँध्ने “खट”ले जसरी काम गर्छ।विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार विश्वभरि ३.७ अर्ब मानिसहरू मुखसँग सम्बन्धित विभिन्न रोगबाट पीडित छन्। ती समस्याहरू प्रायजसो दाँतको ‘इनामल’ खिइनुसँग जोडिएका छन्।इनामल’ खिइने समस्याका कारण सङ्क्रमण हुने, चिसो र तातोप्रति दाँत बढी संवेदनशील हुने र दाँत झर्ने अवस्था पनि निम्तिन सक्छ। त्यस्ता समस्याको सम्बन्ध मधुमेह र मुटुसँग सम्बन्धित गम्भीर रोगहरूसँग पनि हुन सक्छ।यो अनुसन्धानको नतिजा वैज्ञानिक जर्नल ‘नेचर कम्युनिकेशन्स’मा प्रकाशित भएको छ।