काठमाडौँ । जाडो मौसममा केरा खानु हुन्छ कि हुँदैन भन्नेमा प्रायः विरोधाभास हुने गर्छ । कतिपयले जाडो मौसममा केरा खानु उचित हुन्छ भन्छन् भने कतिपयको भनाइ जाडो मौसममा केरा खानु हुँदैन भन्ने छ । जाडो मौसममा खानेकुरा, विशेष गरी फलफूलका बारेमा प्रायः प्रश्न उठ्ने गरेको चिकित्सक बताउँछन् । केरा वर्षभरि सजिलै पाइने र पौष्टिकताले भरिपूर्ण मानिने फल हो । तर जाडोमा यसलाई खाने कुरामा केही मतभिन्नता छन् ।केरा पोटासियम, म्याग्नेसियम र भिटामिन बी६ को राम्रो स्रोत हो, जसले शरीरको मेटाबोलिजम‍्लाई स्वस्थ राख्न मद्दत गर्छ। चिसो मौसममा जब शरीरलाई ऊर्जाको आवश्यकता बढ्छ, केरा ऊर्जाको राम्रो स्रोत साबित हुन सक्छ। साथै, यसमा पाइने फाइबरले पाचन प्रणालीलाई बलियो बनाउँछ, जुन जाडोमा सामान्यतया सुस्त हुन सक्छ।

केरा खाने सही समय पनि महत्त्वपूर्ण छ। बिहान केरा खाँदा पाचनमा मद्दत गर्छ, तर रातिको समयमा केरा खानु हुँदैन, किनकि यसले रुघा र खोकीको सम्भावना बढाउँछ।केरामा पोटासियमको मात्रा बढी हुने भएकाले उच्च रक्तचापको समस्या भएकाका लागि केरा लाभदायक हुने बताउँछन् । तर, मधुमेहका बिरामीले केराको सेवन सीमित मात्रामा गर्नुपर्छ, किनभने यसमा चिनीको मात्रा बढी हुन्छ । जाडोमा केरा खाने वा नखाने निर्णय व्यक्तिको शारीरिक अवस्था र आवश्यकतामा निर्भर गर्दछ। यसलाई सन्तुलित मात्रामा र सही समयमा खाएमा जाडोमा पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।