जनकपुरधाम । नेपालको सातै प्रदेशमध्ये कृषि उत्पादनमा अग्रणी मधेस प्रदेश यो वर्ष लगातारको प्राकृतिक विपत्तिबाट प्रभावित बनेको छ । देशको अन्नभण्डारका रूपमा चिनिने यस प्रदेशका किसानले गत असारमा खडेरी, असोजमा डुबान र कात्तिकमा बेमौसमी वर्षाको मार झेल्नुपरेको छ ।धान रोप्ने समयमा वर्षा नहुँदा समस्या झेलेका किसानले जसोतसो रोपेको धान भित्र्याउने समयमा झरी, बाढी र डुबान झेले । परिणामस्वरुप यो वर्ष मधेसको धान उत्पादन घट्ने मधेस प्रदेश सरकारको आकलन छ ।कृषि विकास निर्देशनालयका अनुसार मधेसमा धान खेतीयोग्य ३ लाख ७० हजार हेक्टर क्षेत्रफलमध्ये यस वर्ष ३ लाख २९ हजार ७२५ हेक्टरमा मात्रै रोपाइँ भएको थियो । सिँचाइको अभावमा करिब ११ प्रतिशत खेत बाँझो रह्यो । जसोतसो मोटर चलाएर वा सिँचाइका अन्य उपाय अपनाएर रोपाइँ गरेका किसानका धान असोजमा आएको अविरल वर्षा र बाढीले नष्ट गर्‍यो ।