
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । भेटवार्ता बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो । “राजदूत थम्पसनले हालैका प्रदर्शनहरूमा ज्यान गुमाउनु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो र नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहोर्याउनु भयो,” काठमाडौंस्थित अमेरिकी दूतावाससले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिका र नेपालबीच ७८ वर्षभन्दा अघिदेखिको साझेदारीलाई स्मरण गर्दै भेटमा व्यापार, आर्थिक वृद्धि र विपद् व्यवस्थापनका विषयमा छलफल भएको थियो ।“नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसीसी सम्झौताका प्राथमिकताहरूमा छलफल गर्नुभयो, जसले अमेरिका र नेपाललाई अझ सुरक्षित, सबल, र समृद्ध बनाउन सहयोग पुर्याउँछ,” अमेरिकी दूतावासले भनेको छ ।
परराष्ट्र मन्त्रालयले भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाएको छ । “अमेरिकी राजदूतले नेपालको विकास आकांक्षामा अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,” परराष्ट्र मन्त्रालयले जनाएको छ ।

