
आज साउन महिनाको पहिलो सोमबार। आज बिहानैदेखि पशुपतिनाथ मन्दिर पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका छन्
अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ। यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन्। सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले बताए। उनका अनुसार पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलो पटक हो।

