कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृृषि विभागका अनुसार असार २९ गतेसम्म गत वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशमा २० दशमलव ४ प्रतिशत र मधेश प्रदेशमा २७ दशमलव ७ प्रतिशत कम रोपाइँ भएको छ।विभागका अनुसार मुलुकभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ८३ हजार ७३२ रहेकामा हालसम्म ५९ प्रतिशत अर्थात् आठ लाख १६ हजार ४०५ दशमलव सात हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।

गतवर्ष भने सोही अवधिमा ६७ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ६ प्रतिशत रोपाइँ कम भएको देखिन्छ।कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले नेपालको पूर्वी क्षेत्रमा सुखद मनसुन नहुँदा रोपाइँ कम भएको बताए।‘यसवर्ष कतै मनसुन प्रतिकूल त कतै अनुकूल बन्दा धान रोपाइँको अवस्थामा पनि गत वर्षको तुलनामा कुनै प्रदेशमा कम त कुनै प्रदेशमा बढी रहेको देखिएको छ,’ उनले भने, ‘पूर्वी तराईमा मनसुन छिटो सुरु भए पनि वर्षा कम भयो, आकाशे पानी कुरेर बस्नुपर्ने किसानका बाध्यताका कारण रोपाइँ कम भएको हो।’

विभागका अनुसार असार २९ गतेसम्म सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको देखिएको छ।‘सामान्यतया सुदूरपश्चिम प्रदेशमा सबैभन्दा छिटो रोपाइँ सुरु हुने र मधेशमा ढिला रोपाइँ सुरु हुने गर्छ, यस वर्ष पनि मधेशमा कम र सुदुरपश्चिममा बढी रोपाइँ भएकोछ,’ महानिर्देशक सञ्जेलले भने।