
जेठ १ गते । प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । अमेरिका समर्थित एक सङ्गठनले यस महिनाको अन्त्यसम्ममा सहायता वितरण सुरु गर्ने बताइरहेका समय बिहीबार बिहानैदेखि ‘वेस्ट व्याङ्क’ क्षेत्रमा इजरायली सेनाद्वारा व्यापक हवाई आक्रमण भएको हो ।
इजरायली सेना प्रमुखले भन्नुभयो, “एक गर्भवती इजरायली महिलाको ज्यान जाने गरी भएको आक्रमणको दोषी पत्ता लगाउने क्रममा कब्जा गरिएको पश्चिम किनारामा छापा मार्ने क्रम जारी छ र सडक अवरुद्ध भएको छ ।”
गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या १०३ पुगेको छ ।
इजरायलले मार्च २ मा गाजा प्रवेशमा सबै सहायता रोकेको थियो भने मार्च १८ मा पुनः सैन्य कारबाही सुरु गरेको थियो ।
ह्युमन राइट्स वाच (एचआरडब्लु) का अन्तरिम कार्यकारी निर्देशक फेडेरिको बोरेलोले बिहीबार एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “इजरायलको नाकाबन्दीले सैन्य रणनीतिलाई उछिनेर विनाशको स्रोत बनेको छ ।”
एचआरडब्लुले भनेको छ, “गाजाको नागरिक संरचना भत्काउने र प्यालेस्टिनी जनसङ्ख्यालाई एउटा सानो क्षेत्रमा केन्द्रित गर्ने इजरायली सरकारको योजनाले मानवताविरुद्ध जारी अपराध, जातीय सफाया र नरसंहारको घृणित कार्यलाई व्यापक रूपमा बढाउनेछ।”
उत्तरी गाजाका ४३ वर्षीय प्यालेस्टिनी अमिर सेल्हाले इजरायलले रातभर तीव्र गोलाबारी गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ यो क्षेत्र मानिसहरू र टेन्टहरूले भरिएको छ र यहाँ ट्याङ्कीका गोलाहरू चौबीसै घण्टा प्रहार भइरहेका छन् ।”

