कोशीदेखि गण्डकी प्रदेशसम्म शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ। अहिले वर्षा गण्डकीबाट सुदूरपश्चिमसम्म विस्तार भएको छ। गण्डकीबाट पश्चिमतर्फ छिटपुटदेखि हल्का वर्षा भएको छ।कोशीदेखि गण्डकीसम्म गएराति देखि नै वर्षाको क्रम सुरू भएको थियो। अधिकांश भूभागमा बिहीबारदेखि नै डम्म बादल लागेको छ। गएरातिदेखि भने सिमसिमे झरी परिरहेको छ। 

१२ घन्टाको अवधिमा कोशी प्रदेशका एक-दुई ठाउँमा भारी वर्षा पनि मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले अद्यावधिक गरेको विवरण अनुसार धनकुटाको लेगुवाघाटमा ५२.८ मिलिमिटर वर्षा भएको छ। खोटाङको कुर्लेघाटमा ४८.२ मिलिमिटर वर्षा मापन भएको छ। कोशी प्रदेशका क्षेत्रहरूमा चौबीस घन्टाको अवधिमा २० देखि ५० मिलिमिटरसम्म वर्षा भएको छ।काठमाडौं गएरातिदेखि पानी पर्ने र रोकिने क्रम चलिहरहेको छ। बिहानदेखि झरी परिरहेको छ। बंगालको खाडीमा बनेको चक्रवात ‘अर्नब’ प्रभाव र पश्चिमी वायुको प्रभावले नेपालको पूर्वदेखि पश्चिमी भूभागमा वर्षा भइरहेको छ।