
रेष्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) कास्कीले आइतबारबाट आयोजना गरेको पोखरा सडक महोत्सवअघि सजिसजाउ पोखरा, लेकसाइडको सडक ।तस्बिरः फडिन्द्र अधिकारी बेमौसममा नेपालका पर्यटन गन्तव्यहरू करिब सुनसान हुन्छन् । पर्यटन राजधानी पोखरामा भने बेमौसममा पनि पाहुना आकर्षित गर्न केही न केही भइरहन्छ ।पुस, माघ महिनामा सुनसान हुने पोखराको लेकसाइड क्षेत्रमा चहलपहल बढाउन सुरु भएको सडक महोत्सवको २७ औं शृङ्खला यसपालि मनाइँदै छ ।
अङ्ग्रेजी नयाँ वर्ष मनाउन स्वदेशीदेखि विदेशी पर्यटकसम्म पोखरा आउने प्रचलन भइसकेको छ। महोत्सवका सांस्कृतिक संयोजक चौबहादुर गुरुङले अहिलेका चर्चित कलाकारसहित सांस्कृतिक नाचहरु पनि महोत्सवका आकर्षण बन्ने जानकारी दिनुभयो । “कौरा नृत्य, थारु समुदायको लाठी नाच जस्ता संस्कृति त रहने नै छन्,” उहाँले भन्नुभयो, “यसपालि विशेष आकर्षणका रुपमा रोधीको सेट नै आउँदै छ । यसपालि महोत्सव बेला लेकसाइडमा रोधी घन्किन्छ ।”रेष्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) कास्कीको आयोजनामा पुस १३ देखि १७ गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ रेवान कास्की अध्यक्ष विश्वराज पौडेल महोत्सवको तयारी करिब सकिएको जनाउँदै लेकसाइड झकिझकाउ बनाइसकिएको बताउनुहुन्छ ।“यसपालि हाम्रो मुख्य चासो सुरक्षामा छ, पछिल्लो आन्दोलनपछि पहिलो महोत्सव गर्दै छौँ,” उहाँले भन्नुभयो, “खाना, स्थानीय उत्पादनहरूलाई प्राथमिकता दिएका छौँ ।”

