
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बन्दको आह्वान गर्ने समूहले राखेका सबै माग सम्बोधन गर्न सकिने खालको नभएको बताएका छन्। उनले आवश्यकताअनुसार विद्यालयहरूलाई सुरक्षा दिइने भन्दै विद्यालयहरू खोल्न आह्वान गरेका छन्।निजी तथा आवासीय विद्यालयको एउटा सङ्गठनले “शान्तिक्षेत्र” मानिने विद्यालयहरूलाई निसाना नबनाउन आग्रह गरेको छ।बन्दको आह्वान गर्ने जनपक्षीय विद्यार्थी युनियन नामक समूहले शिक्षामन्त्रीसहित निर्वाचन आयोगलाई समेत आफ्नो १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको जनाएको थियो। तर सुनुवाइ हुने नदेखिएपछि विद्यालय बन्द गर्नुपरेको उक्त समूहको दाबी छ।
युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले आफ्नो मागबारे पूरा गराउन शिक्षामन्त्री र निर्वाचन आयोगसँग पहल गरे पनि सुनुवाइ नभएकाले विद्यालय बन्दको आह्वान गर्नुपरेको बताइन्।”हामीले शिक्षामन्त्रीसँग भेट्यौँ र माग पूरा हुँदैन भने आन्दोलन सङ्घर्ष चर्काउनुपर्ने हुन्छ भनेर हामीले निर्वाचन आयोगलाई पनि बुझायौँ,” उनले भनिन्।
बन्द आह्वानकर्ता समूह कुनै सरकारी निकायमा दर्ता भएको देखिँदैन।”यो पार्टी निर्वाचन आयोगमा दर्ता भएको छैन। तर विगत २० वर्षदेखि अग्रभाग, मध्यभाग र पुछारमा बसेर नेपाली राजनीतिको शुद्धीकरणको पक्षमा एउटा भूमि तयार पारिरहेका छौँ। जो जरामा छ त्यो सीधै देखिँदैन,” बन्द आह्वान गर्ने जनपक्षीय विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले भनिन्।

