कुनै समय थियो, जब पूर्वी नेपालको पहाडी पाखोबारीमा धान र मकैबाहेक अरू केही रोप्ने कुरा गर्दा मानिसहरू हाँस्थे । त्यस्तै हाँसोको पात्र बनेका थिए खोटाङको खोटेहाङ गाउपालिकाका बल्जित राई । जब उनले २०४९ सालतिर आफ्नो खेतमा अलैँचीका बिरुवा रोपेका थिए । पहाडको पाखो बारीमा उनले अलैँची रोपेपछि गाउँलेहरू भन्थे, ‘यो बौलायो, अब झारपात रोपेर खालास् ।’ तीन दशकअघि, परम्परागत खेती प्रणाली नै सबैको रोजाइ थियो  ।  बल्जितले अलैँचीमा भविष्य देखे । त्यो बेला अलैँची रोप्नु भनेको जोखिमपूर्ण कदम थियो ।  न बजारको ठेगान, न त रोगबाट बचाउने ज्ञान ।  तर उनले हिम्मत हारेनन् ‘शुरूमा त सबैले पागल भने नि हउ,’ उनले हाँस्दै आफ्नो विगत सम्झे, ‘तर मलाई विश्वास थियो, माटोले धोका दिँदैन ।’उनले गाउँबाटै बिरुवा मागेर खेती शुरू गरेका थिए ।  शुरूका केही वर्ष संघर्षमै बिते, तर जब अलैँचीका दानाले बजारमा राम्रो मूल्य पाउन थाले, तब बल्जितको मेहनतले रङ्ग देखाउन थाल्यो ।  हिजो हाँस्नेहरू नै उनको सिको गर्दै अलैँची खेतीमा लागे । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका अधिकांश स्थानीय अहिले अलैँची खेतीमा नै रमाएका छन् ।

उनको सफलताले गाउँको मुहार मात्र फेरेन, कृषिप्रतिको सोचमा समेत क्रान्ति ल्याइदिएको छ । बल्जितको सफलता कुनै जादुले प्राप्त भएको भने होइन । जुन अथक मेहनत, सही व्यवस्थापन र निरन्तरताको परिणाम हो ।  उनी करिब ३०० रोपनी जग्गाका मालिक हुन् ।  जसमध्ये २०० रोपनीमा उनले अलैँची खेती विस्तार गरेका छन् । यस वर्ष ६२ मन अलैँची उत्पादन गर्न उनको करिब ३ देखि ४ लाख रुपैयाँ खर्च भएको थियो । 

उनको यही साधारण तर, प्रभावकारी विधिले उनको बगानलाई रोगबाट जोगाएको छ र उत्पादनमा निरन्तरता दिएको छ । उनको अलैँचीको गुणस्तर यति राम्रो छ कि व्यापारीहरू गाडी लिएर उनको घरसम्मै किन्न आइपुग्छन्  ।बल्जितको सफलता अब उनीमा मात्र सीमित छैन ।  उनको प्रेरणाले आज गाउँका अधिकांश घरहरूमा अलैँची खेती हुन्छ । कोहीले १० मन फलाउँछन्, कोहीले २० मन । उनको भतिजो वडाध्यक्ष जेफर राईले पनि  यस वर्ष करिब ४० मन अलैँची फलाएका छन् । ‘अब त हाम्रो गाउँ नै अलैँची गाउँ भएको छ,’ बल्जित भन्छन् ।