भदौ २३ गतेको जेनजी आन्दोलन र त्यसपछिको हिंसात्मक प्रदर्शनमा प्रहरीले ६ हजारभन्दा बढी राउन्ड रबर र धातुको गोली चलाएको आन्तरिक रिपोर्टले देखाएको छ। यस क्रममा नेपालभरि भएका प्रदर्शन नियन्त्रण गर्न अत्याधिक बल प्रयोग गरिएको थियो जसले गर्दा धेरैको मृत्यु र घाइते भएका थिए। प्रहरीले लाठीचार्ज, अश्रुग्यास लगायतका उपायहरू अपनाएको थियो।आगजनीबाट महत्त्वपूर्ण सरकारी भवन, पार्टी कार्यालय, निजी घर, व्यावसायिक भवन, शैक्षिक संस्था, सञ्चारगृह र प्रहरी कार्यालयमा अत्यधिक क्षति पुगेको देखिएको आयोगले जनाएको छ । शैक्षिक संस्थामा क्षति पुग्दा बालबालिकाको पठनपाठनमा बाधा उत्पन्न हुनुका साथै बालमनोविज्ञानमा समेत असर परेको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ ।

मानव अधिकार आयोगले सुरक्षाकर्मीको मनोबल उच्च बनाउँदै शान्ति सुरक्षाको अवस्थालाई मजबुत र सुशासनका सवालमा गम्भीर बन्न पनि आग्रह गरेको छ । यस्तै कारागार तथा बालसुधार गृहबाट बाहिर निस्केका बन्दीको फिर्ती तथा कारागार व्यवस्थापनमा गम्भीर समस्या देखिएको उल्लेख छ ।भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका एजेन्डासहित भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा भएको जनधनको क्षति र घटनापछि मानव अधिकारको अवस्थाका बारेमा आयोगले देशभर निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।