गत महिना एअर इन्डिया फ्लाइट १७१ दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले केही उत्तरहरू दिए तापनि व्यापक अनुमानहरू उत्पन्न भएका छन्। अहमदाबादबाट उडेको बोइङ ७८७ ड्रीमलाइनर एक मिनेटमै दुर्घटनाग्रस्त हुँदा २४१ जनाको मृत्यु भएको थियो। प्रतिवेदनले पाइलटको भूमिका र इन्धन कट-अफ स्विचहरूको बारेमा प्रश्न उठाएको छ तर ठोस निष्कर्ष दिएको छैन।विमानस्थलबाट लन्डनका लागि उडेको केहीबेरमै मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त  भएको थियो।

एयर इन्डियाको त्यो बोइङ ७८७ ड्रिमलाइनर जहाजमा चालक दलसहित २४२ जना सवार थिए। तीमध्ये २४१ जना र आवासीय क्षेत्रका सर्वसाधारण समेत गरी २७० भन्दा बढीको मृत्यु भएको थियो।भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शुक्रबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले जेटका दुई इन्जिनमा इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू बन्द गरिएको जनाएको छ।साथै ककपिट भ्वाइस रेकर्डरका अनुसार एक जना पाइलटले अर्कालाई ‘तपाईंले इन्धन स्विच किन बन्द गर्नुभएको?’ भनेर सोधेको सो प्रतिवेदनले खुलाएको थियो।

तत्कालै अर्का पाइलटले ‘मैले होइन’ भनेर जबाफ दिएका थिए। तर प्रश्न कुन पाइलटले सोधेको र जबाफ कसले दियो भन्ने चाहिँ प्रतिवेदनले खुलाएन।इन्धन स्विच बन्द भएपछि भुइँ छोडेको केही समयपछि नै ‘थ्रस्ट’ गुमेर उड्न नसकेर सो बोइङ विमान दुर्घटना भएको मानिन्छ। पाइलटहरूले जेटका इन्जिनहरू सुरू गर्न, बन्द गर्न वा निश्चित आपतकालीन अवस्थामा रिसेट गर्न यी स्विचहरूको प्रयोग गर्छन्।