डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप भएको छ। ठुली भेरी नगरपालिका-१ ठाला लेकमा भएको झडप पूर्वी रूकुम र डोल्पाका स्थानीयहरूबीच सीमा विवादका कारण भएको थियो। लगभग ७ सय मानिस संलग्न थिए। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको थियो, अहिले अवस्था सामान्य छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पूर्वी रूकुमको मैकोट गाउँपालिकाका स्थानीय र डोल्पाको काईके गाउंपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयहरुबिच झडप भएको हो।उनीहरूबीच यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भई झडप भएको थियो। दुवै पक्षका गरी अन्दाजी ७ सय मानिसहरू रहेको डिएसपी थापाले जानकारी दिए। स्थितिलाई नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले २ राउन्ड हवाइ फायर गरेको पनि डिएसपी थापाले जानकारी दिए।

