चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी भर्ना गर्ने भएको छ।विश्वविद्यालयले पहिलो चरणमा स्नातक तहका चार वटा कार्यक्रममा १० जना विदेशी विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलका अनुसार कृषि सङ्कायमा तीन, वन विज्ञानमा तीन, पशु चिकित्सा विज्ञानमा तीन र मत्स्य विज्ञानमा एक जना विदेशी विद्यार्थी भर्ना गरिनेछ।

विदेशी विद्यार्थी भर्नाका लागि आवश्यक कार्यविधि तयार भइरहेको विश्वविद्यालयले जनाएको छ। पशु चिकित्सा विज्ञानका विदेशी विद्यार्थीबाट १० हजार अमेरिकी डलर शुल्क लिने र अन्य संकायका विद्यार्थीबाट चार हजार अमेरिकी डलर शुल्क लिने निर्णय गरिएको उपकुलपति कट्टेलले जानकारी दिनुभयो।विश्वविद्यालयले सञ्चालन गर्न लागेको नियमित प्रवेश परीक्षामा भने विदेशी विद्यार्थी सहभागी हुनुपर्ने छैन। विदेशी विद्यार्थीको योग्यता, छनोट प्रक्रिया तथा अन्य मापदण्ड कार्यविधिमा समेटिने जनाइएको छ।