
काठमाडौं । केप भेर्डे विश्वकपमा सहभागी सबैभन्दा सानो राष्ट्र भए पनि यस टोलीले प्रतियोगितामा अत्यन्त ठूलो प्रभाव छोडेको छ ।यसपटक विश्व फुटबलको चर्चा केवल लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एर्लिङ हालान्ड वा ह्यारी केनको मात्र रहेन । पहिलो पटक विश्वकप खेलेको केप भेर्डे नै प्रतियोगिताको सबैभन्दा प्रेरणादायी टोली बन्यो ।स्पेनविरुद्ध गोलरक्षक भोजिन्हा (Vozinha) को अद्भुत प्रदर्शनले टोलीलाई विश्वकप इतिहासकै पहिलो अंक दिलायो । उरुग्वेविरुद्ध पहिलो विश्वकप गोल गर्दै नयाँ इतिहास रच्यो । अनि अर्जेन्टिनाविरुद्ध सिड्नी लोपेस काब्रालले गरेको शानदार गोलले विश्व फुटबलका समर्थकलाई स्तब्ध बनायो । केप भेर्डेको विश्वकप यात्रा रोमाञ्चक क्षणहरूले भरिएको रह्यो ।मियामीमा अतिरिक्त समय सकिँदाको अन्तिम सिट्टीसँगै साविक विजेता अर्जेन्टिनासँग ३–२ ले पराजित भएपछि ‘ब्लु सार्क्स’ का खेलाडीहरू मैदानमै निराश हुँदै बसे । तर, उनीहरू अमेरिका छाड्दा लाखौं समर्थकको मन जितेर फर्किरहेका थिए ।
पूर्व स्कटल्यान्ड अन्तर्राष्ट्रिय खेलाडी जेम्स म्याकफाडेन ले बीबीसी रेडियो फाइभ लाइभसँग भने, “केप भेर्डे पराजित भयो, तर वास्तवमा उसले जित्यो ।”उनले थपे, “उनीहरूले साहस, एकता, अनुशासन र आफ्नो क्षमतामाथिको अटल विश्वास देखाए । यो विश्वकपको सबैभन्दा ठूलो कथा केप भेर्डे नै हो । फुटबलमा हामी यस्तै कथा हेर्न चाहन्छौं ।”विश्व वरियतामा ६७औं स्थानमा रहेको केप भेर्डेले समूह चरणमा तीनवटै खेल बराबरी खेल्यो । पहिलो खेलमै युरोपियन च्याम्पियन स्पेनसँग गोलरहित बराबरी खेलेर सबैलाई चकित पारेको टोलीले त्यसपछि विश्व च्याम्पियन अर्जेन्टिनालाई इतिहासकै ठूलो उलटफेरको संघारसम्म पुर्यायो ।

