भारतीय रूपैयाँ डलरसँग इतिहासकै कमजोर भएको छ, जसले सन् १९९३ देखि कायम रहेको नेपाल-भारत स्थिर विनिमय दरलाई असर गरेको छ। यस अवमूल्यनले पछिल्लो वर्षमा नेपाली रूपैयाँको डलरसँगको मूल्य ६.९५ प्रतिशतले घटाएको छ, जसले आयात लागत र मुद्रास्फीतिमा असर पुर्याएको छ, यद्यपि रेमिटेन्स बढेको छ।अमेरिकाले भारतलाई लगाएको उच्च व्यापार कर, त्यसको सन्दर्भमा विगत दुई दिनयता दुई पक्षबीच भइरहेको वार्ताबाट ठोस निष्कर्ष बाहिर आएको छैन।व्यापार मामिलामा दुई देशका प्रतिनिधिबीच छलफल चलिरहँदा वैदेशिक लगानीकर्ताहरूले पोजिसन लिन सकेका छैनन्। र, विदेशी लगानी बाहिरिने क्रम चलिरहेकै छ। यसले गर्दा भारू इतिहासकै कमजोर भइरहेको छ। भारू कमजोर हुँदा ३२ वर्षदेखि सटही दर स्थिर राखिएको नेपाललाई समेत असर परिरहेको छ। सन् १९९३ (वि.सं २०४९) मा एक भारतीय रूपैयाँ बराबर एक रूपैयाँ ६० पैसाको स्थिर विनिमय दर कायम छ। 

भारू कमजोर हुँदा पछिल्लो एक वर्षमा मात्रै डलरसँग नेपाली रूपैयाँ ६.९५ प्रतिशतले सस्तो भएको छ। २०८१ मंसिर १६ मा एक डलरको लागि एक सय ३५ रूपैयाँ ४८ पैसा तिरिरहेका नेपालीहरू अहिले एक सय ४४ रूपैयाँ ९० पैसा तिरिरहेका छन्।