काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित १५ जनालाई दोषी ठहर गरेको छ । सात जना आरोपितले भने सफाइ पाएका छन् ।न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वमन्त्रीसहित १५ जनालाई विभिन्न कसुरमा दोषी ठहर हुने फैसला सुनाएको हो । उक्त मुद्दामा दोषी ठहर भएकाहरूको सजाय निर्धारण भने आउँदो असार २९ गतेका लागि पेसी तय भएको छ ।
अदालतले पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई ठगी तथा संगठित अपराध र राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर गरेको छ । साथै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई राज्यविरुद्धको कसुरमा मतियार ठहर गरेको छ । मुलुकी अपराध संहिताको दफा ५१ मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने व्यवस्था छ । मुलुकी अपराध संहिताको दफा ५१ को उपदफा १ मा कसैले राष्ट्रहित प्रतिकूल हुने काम गर्नु वा गराउन हुँदैन भनिएको छ । उपदफा २ को १(क) मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तराष्ट्रिय छवि उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउन नहुने उल्लेख छ । उक्त कार्य गर्नेलाई कसुर भएमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ ।त्यस्तै राज्यविरुद्धको कसुुरमा मतियार ठहर भएका बालकृष्ण खाणलाई मुख्य कसुरदार सरह सजाय हुनेछ । मुलुकी अपराध संहिता ऐन ५१ को ६ उपदफा(३) बमोजिम कसुर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरुत्साहन दिने वा उक्साउने र त्यस्तो कसुर गर्न मद्दत गर्ने व्यक्तिलाई मुख्य कसुरदार सरह सजाय हुने व्यवस्था छ । उक्त कसुर गर्नेलाई ५ वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिबाना हुनेछ । यद्यपि, संगठित अपराधको हकमा सजाय थपिने हुनाले खाणलाई ५ देखि ८ वर्षसम्म कैद सजाय हुन सक्छ ।

