
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले उत्तर अमेरिकामा जारी संस्करण नै आफ्नो खेलजीवनको अन्तिम विश्वकप भएको पुष्टि गरेका छन् ।जारी विश्वकपमा मंगलबार राति ००:४५ बजे रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अन्तिम–१६ टोलीबीचको भिडन्तमा बलियो प्रतिद्वन्द्वी स्पेनको सामना गर्दैछ ।अमेरिकाको डालासमा हुने यो खेलको पूर्वसन्ध्यामा रोनाल्डोले भने, ‘यो मेरो अन्तिम विश्वकप हो । त्यसैले म यो विश्वकपको बढीभन्दा बढी आनन्द लिन चाहन्छु ।’यद्यपि, समकालीन विश्व फुटबलका यी महान खेलाडीले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा अन्तिम–१६ मै समाप्त नहोस् भन्ने कामना पनि गरेका छन् ।
सन्न्यासका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘म जब चाहन्छु, तब सन्न्यास लिन्छु । तपाईंहरूले भनेको आधारमा मैले सन्न्यास लिने होइन । यसबारे धेरै प्रश्न सोधेर आफ्नो समय बर्बाद नगर्नुस् ।’पत्रकार सम्मेलनमा लामो समयदेखि आफूविरुद्ध नकारात्मक टिप्पणी गर्दै आएका एक पत्रकारसँग पनि उनी केही कडा रूपमा प्रस्तुत भए ।उनले भने, ‘तपाईंले पछिल्लो २३ वर्षदेखि मलाई सिध्याउने प्रयास गरिरहनुभएको छ । तर, तपाईंले बुझ्नुपर्छ कि यो समयको बर्बादीमात्र हो ।’फुटबल इतिहासका सर्वोत्कृष्ट खेलाडीमध्ये एक मानिने रोनाल्डोले पोर्चुगललाई सन् २०१६ को युरो कप तथा सन् २०१९ र २०२५ को यूईएफए नेसन्स लिगको उपाधि दिलाएका छन् ।

